कोरोना भाइरस समुदायमा फैलन नदिन प्यूठान १ हप्ता निषेधाज्ञा

लोकेन्द्र सुनार
प्यूठान, ११ भाद्र । प्यूठानमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा समुदाय स्तरमा फैलन नदिन भाद्र १८ गते सम्मका लागी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भोली देखी लागु हुने गरी निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनभयो ।
एक हप्ताका लागि अत्यावश्यक पसल बाहेक सबै बन्द गर्ने तथा यस पूर्व १५ गतेसम्म बन्द गरिएको सार्वजनिक तथा नीजि यातायात तीन दिन थप गरी निषेधाज्ञा अवधीभर अर्थात भदौ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल, दुध डेरी बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।
जिल्लामा कोरोना संक्रमण बढ्दै गएको, लक्षण सहित बिरामी देखिनु, बंैक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिदै जान थाले पछि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ । संभावित टे«किङ, ट्याकिङ्ग र टेस्टिङ्गलाई अगाडी बढाई समुदायमा फैलन नदिन एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्यूठान अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बहिरंग सेवा बाहेक अन्य सेवा बन्द गरी सम्पर्कमा आएका व्यक्तिहरुलाई आइशोलेसनमा राखी स्वाव परिक्षण गर्ने तयारी भएको भन्दै निषेधाज्ञालाई पूर्ण पालना गरी सहयोग गर्न जिल्लाबासीमा प्रजिअ भुसालले अपिल समेत गर्नु भएको छ । हाल सम्म प्यूठानका कोराना संक्रमणका कारण १ जना पुरुषको निधन भई सकेको छ ।