पाटाका सुमन पाण्डेको सम्मानमा टानको कार्यक्रम
1 min read
काठमाडौं-ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ( टान) ले पाटा हेड क्वार्टरका नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे लाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी टानले सचिव पाण्डेलाई शुभकामनाका साथै बधाइ ज्ञापन गरेको हो ।कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङ समक्ष पर्यटन व्यवसायका समस्याहरू राख्दै छिट्टै क्वारेन्टाइन सिस्टम हटाएर पर्यटकको आगमन सहज बनाउन सहयोग गरिदिन समेत सुवेदीले आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले पर्यटन क्षेत्रको सहजताका लागि आफूले गर्नुपर्ने पहल गरिरहेको बताए । पछिल्लो समय नाकाबाट नेपाल आउने पर्यटकले पीसीआर रिपोर्ट ल्याउनुपर्ने र फ्लाइटबाट आउने पर्यटकले नेपालमा आएर पीसीआर टेस्ट गर्नुपर्ने र नतिजा नआउन्जेल क्वारेन्टाइन बस्नुपर्ने ड्राफ्ट तयार भएको समेत तामाङले बताए । छिट्टै नै सरकारले पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तयारी भएको पनि उनले बताए ।टानका पूर्व अध्यक्ष नवराज दाहालले पाण्डेलाई बधाइ दिँदै पाटा जस्तो सम्मानित संस्थाको सचिव पदमा नियुक्त हुँदा सिङ्गो पर्यटन क्षेत्रले नै गर्व महशुस गरेको बताए । “सचिव पाण्डेले पाटा च्यापटर नेपालको अध्यक्ष हुँदा पनि धेरै कामहरु गर्नुभएको छ , हामीलाई आशा छ अबको दिनमा पनि नेपालको पर्यटन विकासका लागि सँधै तत्पर भएर लाग्नु हुनेछ”निवर्तमान अध्यक्ष दाहालले भने ।
याङकीला शेर्पाले सुमन पाण्डेले नेपाल पर्यटन क्षेत्रमा धेरै उपलब्धिमूलक कार्य गरेको बताईन् । शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै नवनिर्वाचित पाटा हेडक्वार्टरका सचिव पाण्डेले करिब ३२ वर्ष देखि पर्यटन क्षेत्रमा बिताएको उनले बताए । टानको महासचिवबाट एसोसिएसनमा काम गर्दै आज पाटा हेडक्वार्टरको सचिवसम्म आइपुग्दाको समय भित्रमा साथ सहयोग गर्ने सबै शुभचिन्तकलाई सम्झिँदै पाण्डेले सबैमा धन्यवाद ज्ञापन समेत गरे । मान्छेले जहाँ गएपनि आफ्नो धरातल बिर्सिन नहुने बताउँदै उनले आफू जहाँ पुगेपनि टान लाई, नेपाल पर्यटनलाई र पर्यटन क्षेत्रको विकासमा र आइपर्ने कुनै समस्याको समाधान खोज्न सँधै तयार रहेको पाण्डेले जानकारी समेत गराए । टानका पूर्व अध्यक्ष समेत रहेका पाण्डेलाई रुद्र सिंह तामाङले खादा लगाई शुभकामना प्रदान गरेका थिए ।