January 25, 2021

Asian Khabar

Online News Portal

नेकपामा देखिएको शक्ति संघर्ष तत्कालका लागी निरुपण

भाद्र, २७ काठमान्डौ । आन्तरिक संघर्षका कारण लामो समयदेखि बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले पाटीको निर्देशनमा सरकार सञ्चालन गर्ने सहमति भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव पारित गर्दै शुक्रबार देखि स्थायी कमिटीको बैठक सकिएको हो ।

यस बैठकसँगै नेकपाभित्र देखापरेको शक्ति संघर्ष तत्कालका लागि निरुपण भएको छ । स्थायी कमिटीले पार्टीलाई विधि र पद्धतिमा संस्थागत रूपमा चलाउन यसअघि भएका कमी–कमजोरीलाई सच्याएर आगामी दिनमा विधि र पद्धतिमा अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । साथै गत वर्ष भएका निर्णयहरूलाई कार्यान्वयनमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी पार्टीका दुई अध्यक्षबीच अधिकारका लागि भएको संघर्षको समाधान पनि यस बैठकले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा केन्द्रित भएर काम गर्ने र अर्का अध्यक्ष दाहालले कार्यकारी अधिकार सहित पार्टीको कामको नेतृत्व गर्ने सहमति भएको छ । यस्तै सरकार पार्टीको मार्ग निर्देशनमा सञ्चालन हुने निर्णय पनि स्थायी कमिटीले गरेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

शुक्रबारको बैठकमा सुरुमा सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यस बैठकले पार्टीभित्रको अन्तरविरोधलाई समाधान दिएको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । साथै नेकपाको स्थायी समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपाली हक स्थापित गर्ने र भारतीय सेना फिर्ता पठाउने गरी प्रस्ताव सरकारले अघि बढाई नयाँ नक्सा पारित गरेकोमा धन्यवाद दिएको छ ।

भारतसँग राजनीतिक र कूटनीतिक वार्ताबाट हल निकाल्न पार्टीले निष्कर्ष निकालेको छ । यस्तै अमेरिकी विकास सहयोग परियोजना एमसिसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अघि बढ्ने निर्णय समितिले गरेको छ । दुईजना अध्यक्षले प्रस्ताव प्रस्तुत गरेको प्रतावका विषयमा १३ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group