वृद्ध भत्ता किर्ते गरेको भन्दै वडा कार्यालयमा कुटाकुट

[mashshare]

१० असार काठमाडौं । ९६ वर्षीया महिलाको वृद्ध भत्ता किर्ते गरेर अन्यलाई दिएको विवादमा काठमाडौं महानगरपालिका– ४ मा सोमबार कुटाकुट भएको छ । प्रहरीले दुई सेवाग्राहीलाई पक्राउ गरेको छ । पक्राउ परेको पक्षले पनि वडाध्यक्ष मोहन विष्टसहित पदाधिकारीविरुद्ध प्रहरीमा किर्तेसम्बन्धी जाहेरी दिएका छन् ।

गीताञ्जली मार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूका आफन्तले उनको वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू सोमबार वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरूले आफ्नो नाममा अरूलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा वृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको थियो । प्रहरीले वृद्धाका नातिहरू सुमन लिम्बू र सुरज गुरुङलाई पक्राउ गरेको हो ।

वृद्धाले पनि मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । आफ्नो १२ हजार वृद्ध भत्ता किर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले जाहेरी दिएकी हुन् ।

वडाध्यक्ष विष्टले भने भत्ता वितरण गर्ने क्रममा एउटा व्यक्तिको नाममा अर्काेले हस्ताक्षर गर्दा समस्या भएको बताए । ‘हामी सम्झाउने प्रयासमै थियौँ, उहाँहरू आक्रोशित भएर हात हाल्नुभयो,’ उनले भने ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीमा उजुरी परेपछि वडा कार्यालयले लिम्बूको नाममा भत्ता लिएर हस्ताक्षर गरेको विवरण च्यातेको छ । किर्ते मुद्दा दर्ता नगर्न प्रहरीमाथि दबाब परेको छ। वडाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधि  हुन्।

वडा कार्यालयविरुद्ध बृद्धाको परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने तयारी गरेका छन् ।
वडा नं ४ उपप्रधानमन्त्री ईश्वर पोख्रेलको क्षेत्रमा पर्द्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close