रुकुम घटनामा प्रहरी निष्कर्ष : योजनाबद्ध रुपमा सामुहिक हत्या गरियो, ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

[mashshare]

३२ जेठ, काठमाडौं । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी सुस्मा मल्लबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय विग्रिएको थियो । तैपनि लान सकिन्छ कि भनेर युवक साथीहरु लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको भन्दै एक अनुसन्धान अधिकारीले भने, ‘उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको छ ।’

यो कार्यमा संलग्न ३४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । यसमा प्रहरीले वडाध्यक्ष, युवतीका बुबा लगायतलाई प्रतिवादी बनाएको छ । ‘कसुर अनुसार कारबाहीका लागि सिफारिस गरेका छौं’, एक प्रहरी अधिकृतले बताए ।

उनका अनुसार नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close