श्रीमानबाटै एसिड पीडित गंगाको भारतीय अस्पतालमा बिचल्ली

[mashshare]

शीतल भट्ट

कञ्चनपुर, ०७ जेठ । एसिड प्रहारबाट घाईते भएकी कञ्चनपुरको बेलौरी नगरपालिका ५ रामनगर आफन्तकाे घर बताउने ३० वर्षीया गंगा विष्टको यतिबेला भारतमा बिचल्ली भएको छ ।

गत फागुन तेस्रो साता बैतडी कलागाँउ स्थायी घर भएका ३४ वर्षीया श्रीमान् राम बहादुर विष्टले घरायसी विवाद हुँदा श्रीमती गंंगाको शरीरमा एसिड प्रहार गरेकाे पीडित पक्षकाे भनाइ छ । गंगाकाे शरीर पूरै जलेर दर्दनाक अवस्थामा रहेकाे छ ।

एसिड प्रहार गरेका श्रीमान् राम दुई दिनपछि नै मृत फेला परेका थिए । सामान्य विवादमा श्रीमतीकाे शरीरमा एसिड प्रहार गरेका रामले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियाे । उनीहरूका दुई साना अबाेध बालककाे समेत बिचल्ली भएको छ ।

निको नहुँदै डिस्चार्जका लागि दबाव

भारतको बैङ्लोर स्थित भिक्टोरी अस्पतालमा उपचारार्थ भर्ना भएकी गंगालाइ भेट्न अस्पताल कक्षमै गएका बेलाैरी नगरपालिका- ४ शान्तिपुर घरभएका प्रवासी समाजसेवी अभियन्ता रामप्रसाद काफ्लेका अनुसार पीडित महिलालाई अस्पतालले निको नहुँदै डिस्चार्ज हुन दबाव दिन थालेको छ ।

पछिल्लोपटक उक्त भिक्टोरी हस्पिटलमा काेराेना संक्रमितको मात्रै उपचार भइरहेकाले उनलाई अन्यत्रै लैजान दबाव दिइएकाे छ । अब उनी कहाँ गएर उपचार गर्ने भन्नेमा चिन्तित छिन् । काेराेना कहरका बीच जारी लकडाउनमा हस्पिटल पाउन र त्यहाँसम्म जान साह्रै समस्या रहेको उनले बताए ।

गंगाका भाइ गणेश रावतले भने, ‘उपचार गर्न न त पैसा छ, न कुनै उपाय नै, के गर्ने हाेला !उपचारमा समस्या भइरहेको छ, उद्धार र सहयाेग गरिदिन सबैमा अनुरोध गर्दछु ।’

दूतावासले नै चासाे दिएन

भाइ रावतले घटनाबारे कञ्चनपुरका नेतादेखि मन्त्री र दिल्लीस्थित नेपाली दूतावासमा जानकारी गराउँदा समेत कसैले कुनै वास्ता नराखेको दुखेसो पोखे ।

भारतस्थित नेपाली राजदूतावासमा गंगाले थप उपचारको प्रबन्धका लागि अपिल गर्दा समेत अहिलेसम्म दूतावसले कुनै सुनुवाई नगरेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘कोरोना संक्रमणले च्यापिरहेका बेला भारतीय अस्पतालमा गंगाको स्वास्थ्यबारे भारत सरकारले चासो देखाउने कुनै भएन ।’

यतिबेला नेपाल सरकारले दु:ख र पिडामा परेका अलपत्र आफ्ना नेपाली नागरिकबारे कुनै चासो चिन्ता प्रकट गरेको छैन । अनाहकमा महिला अधिकारको डाँगरो बजाउने अतिवादी महिला अधिकारकर्मीले समेत यस्ता पीडित महिलाको विषयमा कुनै चासो नदिएकाे पीडितका भाइ रावतले दुखेसाे पाेखे ।

के भन्छन् यहाँका महिला अधिकारकर्मी ?

कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले भारतमा बिचल्लीमा परेकी एसिड पीडित गंगाको उद्धार गरेर सरकारले उपचार गर्नुपर्नेमा जोडदिएकी छिन् । ‘हामी महिला अधिकारकर्मीले यस्तायस्तै पीडित महिलाको विषयमा सरकारलाई घचघच्याउनुपर्छ,’ उनले भनिन, ‘सामान्य घरसायी विवाद हुँदा श्रीमान-श्रीमती बीचको विषयले यसरी महिलाको ज्यानै लिने वा घरै फुटाउने हुनुहुँदैन ।’

उनले परिस्थितिअनुरुप पीडित भएकी गंगाको उपचारका लागि पहल गर्दै विदेशी भूमिमा रहेकी एक नेपाली नारीकाे जीवन बचाउनुपर्ने कर्तव्य सबैकाे रहेकाे बताइन् ।

समाचार न्युज 24 टिभि अनलाइन बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close